मिति ः २०७०।०५।०५
श्री बिनेश दुरा, काठमाण्डौ ।
।। दुरा जातिको बिहे संस्कार ।।
दुरा समुदायको बिहे संस्कार छ । मामा चेली अर्थात फुपु–माइती चेली बीच बिहे हुन्छ । मामा चेलीसंग हुने बिहेलाई हकदावी बिहे भनिन्छ । बदलिदो परिवेशमा आफन्ती बिहे पनि भनिन्छ । दुरामा प्रेम, चोरी, र भागी बिहे गर्ने चलन छ । मागी बिहे वैधानिक मानिन्छ । बिहे पक्का गर्ने प्रक्रियालाई साइपाटा भनिन्छ । बिहे पक्का गर्ने सहयोगीलाई कलिया भनिन्छ । दुरामा पाँच थर छन् । धिङ्गल, धिङ्गल, पाचे, र पुई, क्याउसा बीच बिहे गर्न सकिन्छ । बिहे नहुदासम्म एकअर्कालाई सोल्टी–सोल्टिनी भन्छन् ।
बिहे पक्का गर्दा केटा–केटीको वर्ग मिलापलाई ख्याल गरिन्छ । कलिया मार्फत रक्सी, ढोसा रोटी, दहि र कुखुराको भाले लिएर केटीको घरमा गइन्छ । मगनीलाई चेली पक्षले स्वीकारे मात्रै बिहे पक्का भएको मानिन्छ । बिहे गर्न स्वीकारे, जन्ती र बाजा ल्याउने÷नल्याउने निर्णय गरिन्छ । दुलही साथो (कपडा, गहना र नगद) मितव्ययीतामा कायम गरिन्छ । धर्मशास्त्रको शुभ साइतमा मिति तोकिन्छ ।
दुलहा–दुलहीलाई दुरा परम्परा अनुसारको परिहन लगाइन्छ । दुलहालाई कालो टोपी, भोटो, इष्टकोट, जन्तर, कछाड, जुत्ता र गहना लगाइन्छ । दुलहीलाई कण्ठ, चोली, घलेक, मिझात्रो, चुरी, पटुका, जन्तर, गुन्यू र गहना लगाइन्छ । दुलहाको शीरमा साफा लगाइन्छ । दुलहाको साथी, दुलहाको बाबु र कलियाको शीरमा साफा लगाइन्छ । साफा आफ्नै घरबाट लगाइन्छ । सेतो टिका, फूल–माला लगाइन्छ । गच्छे अनुसार पैसा दिइन्छ । जन्ती लगायत आफन्तलाई फुल–टिका लगाइन्छ । दुलहा अनमाउदा, भञ्ज्याङ्ग–चौतारीमा पुग्दा, दुलही घर नजिक पुग्दा, दुलही अनमाउदा र भित्राउदा बन्दुक पडकाइन्छ ।
दुलही घरका आफन्तद्धारा जन्तीहरुलाई स्वागत गराइन्छ । दुलहीको भाउजुद्धारा दुलहालाई बस्न आग्रह गर्दै कम्मल बिछ्याइन्छ । बिछ्याइएको कम्मलमा दुलहा–दुलहीलाई बसाइन्छ । आफन्तबाट सेतो टिका, फूल लगाइन्छ । गच्छे अनुसार पैसा दिइन्छ । वैवाहिक जीवनको शुभकामना दिइन्छ । घरमा देवी–देवताको पूजा गरिन्छ । दुलहाबाट ध्वजा चढाइन्छ । त्यो दिनदेखि ज्वाइँलाई मर्दा–पर्दाका पुरोहित बनाइन्छ ।
दुलहा–दुलहीको घरमा आफन्तहरुलाई भोज खुवाइन्छ । आफन्तहरु मिलेर मादल, खैजरी, बाजा बजाएर रमाइलो गरिन्छ । विशेषगरि लोकदोहोरी र ठाडो भाकामा गीत गाइन्छ । नाचिन्छ । दुलहाको गच्छे अनुसार दुलहीको आमा, गाउँका मुखिया र रोधी घरकी आमालाई रोटी, रक्सी र जाँड दिइन्छ । दुलहीका भाइखलक, ठूली÷सानी आमा, मामाली–बुढोमामाली, बज्यै, फूपु, दिदि, भाउजुलाई ढोगनी–भेटनी दस्तुर दिइन्छ । दिदि छोडी बैनी बिहे गरेमा, दिदीलाई मिझात्रो वा केहि नगद दिइन्छ । दुलहा–दुलहीद्धारा कलियालाई दस्तुर दिइन्छ ।
दुलहीका आफन्तद्धारा दुलहालाई कन्यादान गरिन्छ । दुलहीकी बहिनीद्धारा बाटो छेकिन्छ । दुलहीकी बहिनीलाई दुलहाबाट केहि रकम दिइन्छ । लोकन्तीद्धारा कन्यालाई दुलहाको घरसम्म पु¥याइन्छ । दुलहाका आमा–बाबा र आफन्तद्धारा दुलही भित्राइन्छ । भित्राउनेक्रममा घरको ढोकामा बासेको भाले काटिन्छ । लोकन्तीलाई टिका, गछ्य अनुसार कोशेली दिएर बिदा गरिन्छ । केहि दिनपछि सम्दी–सम्दिनी भेट्ने चलन छ । सम्दी–सम्दी बीच साफा र सम्दिनी–सम्दिनी बीच मिझात्रो आदनप्रदान गरिन्छ ।
प्रेम, चोरी, र भागी बिहे भए पनि समय अनुकुल पारेर आफन्तद्धारा टिका थापिन्छ । यदि लोग्ने र स्वास्नी बीच सम्बन्ध राम्रो नभए, दुवै पक्षको भद्रभलादमी, भाइखलक, अभिभावकको छलफलबाट सिन्कापाङ्गो (सम्बन्ध विच्छेद) गर्न सकिन्छ । छलफलबाट तोकिएको जरिवाना तिरेर सम्बन्ध विच्छेद भएका महिला÷पुरुषले पुनः बिहे गर्न सकिन्छ । लोग्ने वा स्वास्नी कुनै एकको मृत्यृ भए, जीवित लोग्ने वा स्वास्नीलाई दोस्रो बिहे गर्न दिइन्छ ।
।। दुरा जातिको मृत्यू संस्कार ।।
दुरा समुदायको मृत्यू संस्कार अनौठो छ । मृत शरीरलाई सुरक्षितसाथ बाहिर राखिन्छ । उक्तदिन, मृतकको घरको पिढी उल्टो लिपिन्छ । चरेसको थालमा राखिएको तेल छोरीबेटीद्धारा मृतकको निधारमा लगाइन्छ । सो थाल छोरीले नै लैजाने चलन छ ।
घरका सदस्यद्धारा मृतकको खुट्टातर्फ पिउरी दिइन्छ । मामाली वा ससुरालीका सदस्यद्धारा टाउकोतर्फ पिउरी दिइन्छ । एक माना चामल र पैसा समेत राखिन्छ । बिवाहित महिलालाई माइतिले र अबिवाहितलाई मामालीद्धारा पिउरी दिइन्छ ।
मृतक पुरुष भए, आयताकार र महिला भए त्रिकोणात्मक चिटा वा चिहान बनाइन्छ । घरका सदस्यद्धारा मृतकको मुखमा र मामालीद्धारा खुट्टा तर्फ दागबत्ति दिइन्छ ।
क्रियाकर्मीलाई पधँेरामा लगी मामालीद्धारा कपाल, दाह्री–जुङ्गा र आँखी भौँ काटिन्छ । क्रियाकर्मीलाई पानीले मात्रै नुहाएर एकसरो सेतो कपडा लगाइन्छ । क्रियाकर्मीलाई सजिव प्राणी छुन नदिने, नुन बार्ने, तामाको ताउलीमा भात पकाएर एक छाक मात्रै खाने, दिनहूँ नुहाउने, परालमाथी बस्ने र कम्मल ओढ्न दिइन्छ ।
कार्जे सम्पन्न गर्न एक माना चामाल र दश रुपैयाँ संकलन गरिन्छ । छोरीबेटी वा माइतिद्धारा गहुँत ख्वाई क्रिया बसेको तीन वा तेह्रौँ दिनमा चोख्याइन्छ । क्रियाकर्मी लगायत परिवारका सदस्यलाई नुन छुवाइन्छ । मृतकका परिवारद्धारा १३ दिन, ३० दिन, ४५ दिन वा एक बर्षसम्म फूलटिका बारिन्छ । मामालीद्धारा टिका, टोपी, साफा र मिझारो ओढाएर फूलटिका फुकाइन्छ । मृतकलाई भारा नलागोस भनी मामाली लगायत मलामीलाई मासुरहित खाना खुवाइन्छ ।
सँस्कृतिमध्ये रिपा लगाउनु सँस्कार हो । रिपा, जन्मिएको छैठौ दिनदेखि मृत्यू पर्यान्तसम्म लगाईन्छ । वर्ग फेरिएसँगै बषैपिछे लामाद्धारा रिपा फेरिन्छ । रक्षा बन्धनका रुपमा रिपा लगाइन्छ । रिपाको परिष्कृत रुप जन्तर हो । जन्तर, छोरा–छोरीको कर्मसंस्कार गरेपछि लगाउन शुरु गरिन्छ । बदलिदो परिवेशमा विभिन्न समारोहमा जन्तर लगाइन्छ ।
विग्न बाधाबाट छुटकारा मिलोस, भुत, पिसाच, बोक्सी, डाइने नलागुन, शत्रु नहुन, सकारात्मक सोचको विकास होस, आफूलाई मन नपर्ने व्यावहार अरुलाई नगरुन, सर्वोत्तम हितको कामका अग्रसर होउन भन्ने हेतुका कारण रिपा अथावा जन्तर लगाइन्छ ।
दुराको आफ्नै पहिरन छ । पूरुषले कालो टोपी, भोटो, इष्टकोट, वाला, जन्तर, कछाड, जुत्ता लगाउछन । महिलाले चोली, घलेक, मिझात्रो, टिकेस, पटुका, पोते, चुरी, फूली, बुलाकी, कण्ठ, वाला, ढुङ्ग्री, जन्तर र गुन्यू लगाउछन् ।
।। दुरा जातिको जन्म संस्कार ।।
दुरा समुदायको जन्म संस्कार अनौठो छ । गर्भअवस्थामा श्रीमान र श्रीमतिले प्राणी हत्या गर्दैनन् । बच्चा जन्मिएको पहिलो दिन छोरा भए– कुखराको भाले र छोरी भए– कुखराको भाले काटिन्छ । त्यसो गर्नुको कारण छोरा कि छोरी जन्मियो भन्ने संकेत भएको पूर्खाहरुको भनाई छ । आकस्मिक समय पर्दा तीनौँ दिनमा पनि बच्चाको न्वारन गरिन्छ । बच्चा जन्मिएको छैठौ दिनमा जात कर्म गरिन्छ । प्रकृतिमाताले बच्चाको भाग्य लेख्ने दिनका रुपमा मनाइन्छ । बच्चा जन्मिएको सातौँ, नौँ वा एघारौँ दिनमा लामाद्धारा बच्चाको न्वारन गरिन्छ । बच्चा जन्मेको समय, दिन र मिति हेरेर लामाद्धारा बच्चाको राशी नाम राखिन्छ । त्यसपछि बोलाउने नाम राखिन्छ । बाजेबज्यैद्धारा बच्चाको हात, गोडा र घाँटीमा रख्खे डोरी लगाइन्छ । छोरा भए– काँधमा धनुषवाण बनाएर भिराईन्छ । छोरी भए–केहिसमय डोकोमा राखिन्छ । उमेर वृद्धिसँगै सिकार गर्न, परिवारलाई सुरक्षित राख्न धनुशवाण भिराइन्छ । सिकारलाई संकलन गर्न र आवश्यक सामान राख्न डोको भिराइन्छ । आफन्तलाई सामान्य भोज खुवाइन्छ ।
।। दुरा जातिको कर्म संस्कार ।।
परम्परागत मूल्य मान्यतामा आधारित आफ्नै कर्म संस्कार छ । छोरा भए–छैठौँ र छोरी भए–पाँचौ महिनामा पास्नी गरिन्छ । धर्मशास्त्र अनुसार शुभ साइतमा पास्नीको आयोजना गरिन्छ । बच्चालाई ठोस खाना खुवाउन शुरु गर्ने दिनका रुपमा पास्नीलाई लिइन्छ । बाजे वा बज्यैको हातबाट भात खुवाइन्छ । बच्चालाई नयाँ लुगा लगाई मिठा–मिठा खाना खुवाइन्छ । आफन्तलाई आमन्त्रण गरि भोज खुवाइन्छ ।
मामाद्धारा भान्जाको छेवर गरिन्छ । भान्जाका परिवारबाट मामालाई निमन्त्रणा गरिन्छ । पाँचाँै, साताँै र नौँ मध्ये कुनै बर्षमा शुभ साइत हेरेर छेवर गरिन्छ । मामाद्धारा भान्जाको कपाल काटिन्छ । काटिएको कपाललाई फूल र रुखको फेद, ढङ्गा मुनि वा कसैले नकुल्चने ठाउँमा राखिन्छ । मामाद्धारा ल्याइएको टोपी, जन्तर र बाला भान्जालाई लगाइन्छ । छेवर नभएको बालकले बिहे र पितृ–क्रिया कर्म गर्न मिल्दैन ।
त्यसै अवसरमा पुटपुटे दिने पनि चलन छ । छोरा जन्मिएको खुशीमा आमा–बालाई पुटपुटे दिइन्छ । बाबुलाई साफा वा टोपी, आमालाई मिझारो दिइन्छ । आमन्त्रित आफन्तलाई भोज खुवाइन्छ ।
परिवारबाट आफ्ना छोरीलाई गुन्यूचोली दिइन्छ । छोरीको रजस्वला नहुदै गुन्यूचोली दिइन्छ । नौँ, एघारौ र तेह्रौ मध्ये कुनै बर्षमा शुभ साइत हेरेर गुन्यूचोली दिइन्छ । गुन्यूचोलीको साथमा घलेक, मिझात्रो, जन्तर, चुरी र पोते दिइन्छ । आमन्त्रित आफन्तलाई भोज खुवाइन्छ ।
।। दुरा भाषाको अवस्था ।।
दुरा भाषा, नेपालको राष्ट्रिय भाषा हो । अभिलेखिकरण नभएको भाषा हो । भाषिक समुदाय सानो छ । भाषिक चेतनाको कमी छ । मातृभाषामा पढाइ हुदैन । नेपाली भाषा प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसैले, दुरा भाषा लोपउन्मुख छ । आफ्नै लिपि नहँुदा अभिलिखित हुन सकेको छैन । ठाउँ अनुसार बोलिने शब्द र उच्चारण फरक छ ।
छ हजार भन्दा बढि दुरा भएपनि वक्ताको संख्या न्यून छ । यूवाले मातृभाषा बोल्न छाडेर नेपाली बोल्छन् । पढ्ने माध्यम नेपाली भएकोले नयाँ सन्ततिमा आफ्नो भाषाको ज्ञान शुन्य छ । भाषा जान्ने वक्ता पनि आफ्ना केटाकेटीसंग नेपालीमै कुरा गर्छन् । त्यसैले पाका मानिसमा भाषा सिमित छ । वृद्ध सोमा दुरा उदाहरणीय पात्र हुन् । भाषाप्रति माया र संरक्षण गर्ने इच्छा भएपनि केटाकेटीमा भाषा सिकाई नहुँदा उनीहरु चिन्तित छन् । प्रयोजनमा नेपाली प्रयोग गर्छन् । भाषा लोप हुनेक्रम बढ्दो छ । दुराले आफ्नो मातृभाषालाई ‘दुरा कुरा’ भन्न रुचाउछन् । २०५८ को जनगणना अनुसार, दुराको संख्या ५,६६१ छ । भाषिक गणनानुसार ३३९७ जनाले भाषा बोल्ने तथ्याड्ढ भएपनि वक्ता कम छन् ।
दुरा भाषा, भोट–बर्मेली भाषा परिवारमा पर्छ । भोट–बर्मेली परिवारको हिमाली–पूर्वेली उप–समूहमा समावेश छ । हड्सनका अनुसार सार्वनामिक भाषा हो । भाषाविद्ध भुर्म र क्रिस्टनले पनि दुरा भाषालाई लोपउन्मुखमा समावेश गरेका छन् । सरकारी मानव विकास सुचाड्ढ अनुसार, नेपाल आदिवासी जनजाति महासंघले सिमान्तकृत समुहको १९ औँ श्रेणीमा राखेको छ ।